पत्रकारमाथि दुर्व्यवहार : महासंघ बाराद्वारा दोषीमाथि कारबाहीको माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ फागुन २०८२, बारा

नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडामाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

सोमबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित बडहर्वा चोकमा स्थानीय श्रवण लामा (संग्राम) भनिने व्यक्तिले मदिरा सेवन गरी खतिवडामाथि गालीगलौज तथा हातपातको प्रयास गरेको जनाइएको छ। बजारतर्फ गएका खतिवडालाई लक्षित गर्दै लामाले विगतमा आफूले गरेका अवैध गतिविधिबारे भिडियो खिचेको विषय उठाउँदै आक्रामक व्यवहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। हेल्मेट प्रहार गर्न खोज्दा उपस्थित स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएका थिए।

स्थानीयका अनुसार लामा सार्वजनिक स्थलमै अश्लील र आक्रामक व्यवहार गर्ने व्यक्ति हुन्। विगतमा अवैध असुली, होहल्ला तथा आपराधिक गतिविधिमा संलग्न रहँदै आएका उनीविरुद्ध पटक–पटक उजुरी परे पनि प्रभावकारी कारबाही नहुँदा स्थानीयवासी आजित बनेका छन्। घटनापछि उनलाई प्रहरी चौकी जैतापुरले नियन्त्रणमा लिएर छाडेको बताइएको छ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले पत्रकारमाथि भएको दुर्व्यवहार प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

Leave a Comment