जनकपुरधाम – मंसिर २४
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शिवशंकर साह नेकपा एमालेको ११औं महाधिवेशनका प्रतिनिधि रहेको खुलेको छ।
जनकपुरधामस्थित एक होटलमा बालिकामाथि बलात्कार भएको घटनापछि साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। ‘हिरा’ भनेर चिनिने साह जनकपुरधाम उपमहानगरपालिकाका मेयरका पूर्व–प्रत्यासी तथा स्थानीय उद्योग व्यवसाय क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्।
उनी जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि भइसकेका छन्। धनुषा–३ बाट एमाले महाधिवेशनका लागि प्रतिनिधि चयन भएका साहसहित ४ जनाविरुद्ध दुई हप्ता अघि नै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो।
प्रहरीले उनीहरूमाथि बालिका बलात्कारसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


