९ फागुन,काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री सुशीला कार्की देश दौडाहामा निस्किएकी छन्। निर्वाचन सुरक्षा, सामग्री व्यवस्थापन र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी विभिन्न प्रदेश र जिल्लाको भ्रमणमा रहेकी हुन्।
निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायतका सामग्री जिल्लाहरूमा पुर्याउन थालेको छ भने सुरक्षा निकायहरू पनि निर्वाचन केन्द्रित तयारीमा खटिएका छन्। यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले हिमाली तथा पहाडी जिल्लाको अवस्थाबारे ब्रिफिङ लिँदै सुरक्षा संवेदनशीलता बढाउन निर्देशन दिएकी छन्।
पोखरामा सुरक्षा निकायसँग भएको छलफलमा हिमाली क्षेत्रमा हिउँ परे गण्डकी प्रदेशका ४५ वटा मतदानस्थल प्रभावित हुनसक्ने जानकारी प्रधानमन्त्रीलाई दिइएको थियो। प्रदेशभर १,२९९ मतदानस्थल रहेकोमा ती सीमित स्थानमा मात्रै समस्या हुनसक्ने बताइएको छ। हालको अवस्थामा भने कुनै अवरोध नरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
उच्च हिमाली क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसपटक अतिरिक्त निर्वाचन सामग्री, उच्च उचाइमा प्रयोग हुने औषधि तथा पोर्टेबल स्वास्थ्य सामग्री समेत पठाइएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन विथोल्ने प्रयास हुनसक्ने भन्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएकी छन्। केही समूहले चुनाव बहिष्कारलाई पेशाजस्तै बनाएको टिप्पणी गर्दै उनले लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने गतिविधि सह्य नहुने स्पष्ट पारेकी छन्।
उनले सबै राजनीतिक दल उत्साहपूर्वक चुनावमा सहभागी भएकोमा सन्तोष व्यक्त गर्दै राजावादी तथा उग्र गतिविधितर्फ पनि निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएकी छन्।
गण्डकी प्रदेशमा १८ लाख मतदाता र ३१४ उम्मेदवार रहेका छन्। प्रधानमन्त्री कार्कीले गण्डकीमा छलफलपछि लुम्बिनी प्रदेशको भ्रमण जारी राखेकी छन्।

