कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोको बोलावट, पत्रकारको उजुरीपछि अनुसन्धान

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक १९। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धानका लागि उपस्थित हुन बोलाएको छ।

पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा ब्युरोले उनलाई फोनमार्फत सम्पर्क गरी उपस्थित हुन भनेको हो।

धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र साइबर ब्युरोमा उपस्थित हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारले सिर्जना गर्न खोजेको भय र भ्रमबाट आफू विचलित नहुने प्रतिक्रिया दिएका छन्।
शिवाकोटीले प्रहरी लगाएर आफूलाई खोज्न आवश्यक नरहेको उल्लेख गर्दै काठमाडौं फर्किंदै गरेको बताएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’
पछिल्ला केही दिनदेखि शिवाकोटीले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनले सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको आरोपसमेत लगाएका छन्।
ब्युरो स्रोतका अनुसार पत्रकार खड्काले दिएको उजुरीपछि शिवाकोटीलाई बोलाइएको हो। सामाजिक सञ्जालमा खड्काले व्यक्त गरेका विषयमाथि प्रश्न उठाउँदै शिवाकोटीले प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार रूपमा जवाफ दिनुपर्ने धारणा राखेका थिए।
यसैबीच, प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाले प्रहरीसमक्ष दिएको बयानको अडियो रेकर्ड सार्वजनिक भएको विषयमा पनि शिवाकोटीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।
साइबर ब्युरोले बोलाएपछि शिवाकोटीले काठमाडौं फर्किएर उपस्थित हुने बताएका छन्। तर, उजुरीमा लगाइएका आरोप र ब्युरोको अनुसन्धानको निष्कर्षबारे थप विवरण सार्वजनिक भएको छैन।

Leave a Comment