बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा घाँस काट्ने क्रममा रूखबाट खसेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बुधबार बिहान आफ्नै गोठघर नजिकै रहेको बकाइनोको रूखमा चढेर घाँस काट्ने क्रममा थिङ अचानक तल खसेका थिए।
रूखबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। तर, चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी औराहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत खटिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

