गौर झडप प्रकरणमा जनमत संयोजकसहित २३ जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार १० फागुन, २०८२— रौतहटको गौर क्षेत्रमा दुई समुदायबीच भएको झडप तथा आगजनी घटनामा संलग्न आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेहरू दुवै पक्षका छन्। मुस्लिम समुदायतर्फबाट जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद तथा हिन्दु समुदायतर्फका वडाध्यक्ष बिहारी प्रसाद साह तेलीसहित उनीहरूलाई पक्राउ गरिएको हो। शेख जमशेद पूर्व वडाध्यक्षसमेत रहेका छन्।

शुक्रबार प्रशासनको पहलमा दुवै समुदायबीच सहमति गराइएको भए पनि शनिबार बिहानैदेखि पुनः विवाद चर्किएर झडप भएको थियो। स्थिति तनावग्रस्त बन्दै आगजनीका घटना भएपछि प्रशासनले गौर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्यु लागू गरेपछि अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताएका छन्। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार आइतबार पनि कर्फ्यु निरन्तर रहनेछ।

घटनापछि सुरक्षा अवस्थाबारे केन्द्रीय सुरक्षा समितिमा समेत छलफल भएको छ। मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था बुझ्न कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई त्यस क्षेत्रमा खटाउने निर्णय गरिएको जनाइएको छ।

केन्द्रीय सुरक्षा समितिले दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गर्दै गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने जनाएको छ।

Leave a Comment