इटहरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २२ कात्तिक । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा शनिबार राति भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन।
दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment