लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट बिजुली खपत हुने अनुमान, मागभन्दा उत्पादन बढी

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २२ कात्तिक। लक्ष्मीपूजाको अवसरमा आज साँझ देशभर विद्युत् खपत बढेर करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्को बढ्दो माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने जनाएको छ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। अनुमानित मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले तिहार, छठ तथा नेपाल संवत्लगायतका पर्वका अवसरमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। मन्त्रीको सचिवालयका अनुसार पर्वका समयमा नागरिकलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

उता, उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं देशमा लोडसेडिङ अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका कुलमान घिसिङले तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना दिँदै देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्।

उनले आफ्नो शुभकामना सन्देशमा २०७३ सालअघिको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै त्यतिबेला उज्यालोको पर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्।
घिसिङले विगतमा विद्युत्को अन्धकार हटाउन सफल भएजस्तै अब देशमा विद्यमान बेथिति, भ्रष्टाचार र अन्यायको अन्त्य गरी सकारात्मक परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Leave a Comment