बाराको कोल्हवीमा मोटरसाइकल दुर्घटना : २८ वर्षीय अमितको मृत्यु, दुई जना घाइते

पढ्न लाग्ने समय : 1 मिनेट

बारा । बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार भएको दुर्घटनामा कोल्हवी नगरपालिका–२ निवासी २८ वर्षीय अमित मोक्तानको मृत्यु भएको हो। उनी मोहन मोक्तानका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अमितलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हवी–२ कै २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन्। दुवै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट झुरझुर र इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक राजेश दास बनिया र प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको नेतृत्वमा खटिएको टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

दुर्घटनाको समयमा मोटरसाइकल कसले चलाएको थियो भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment