१६ फागुन २०८२, काठमाडौं-निर्वाचन आयोगले सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई निर्वाचन अवधिमा अतिरिक्त सवारी पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।
शनिबार जारी सूचनामा आयोगले निर्वाचन प्रयोजनका लागि आवागमन गर्ने निश्चित श्रेणीका सवारीसाधनलाई विशेष अनुमति बिना सञ्चालन गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ। सो सूचीमा प्रेस पासधारी सञ्चारकर्मीको सवारीसाधन पनि समावेश गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रेस पास भएको सवारीसाधन सम्बन्धित सञ्चारकर्मीले मात्रै प्रयोग गर्नुपर्नेछ। उक्त सवारीमा प्रेस पास नभएका अन्य व्यक्तिलाई बोक्न पाइने छैन।
निर्वाचनका बेला अत्यावश्यक सेवा तथा आधिकारिक प्रयोजनका सवारीसाधनको निर्बाध आवागमन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ। सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी समाचार संकलन र प्रसारणमा सहजता होस् भन्ने उद्देश्यले प्रेस पासलाई नै मान्य परिचयपत्रका रूपमा स्वीकार गरिएको आयोगले स्पष्ट पारेको छ।






