काठमाडौं, कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। आन्द्रे रसेलको ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शनपछि विराटनगरले साँघुरो जित निकालेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। विशाल सुसलिङले ३० बलमा ४३ तथा जेम्स निसमले १५ बलमा २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। विराटनगरका इमरान शेखले ४५ बलमा ५६ रन बनाए। लोकेश बमले ४० बलमा ५० रन जोड्दा आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे। शुभम रञ्जाने ७ रनमा अविजित रहे।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
यस जितसँगै चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित ४ अंक जोडेको छ। समान चार खेल खेलेको जनकपुरको पनि दुई जित र दुई हारसहित ४ अंक नै रहेको छ।

