काठमाडौँ, कात्तिक १७ । पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
यस जितसँगै लुम्बिनीले ५ अंक जोडेको छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाए भने निरोशन डिकवेल्लाले अविजित २७ रनको योगदान दिए। तेस्रो विकेटका लागि रोहित र डिकवेल्लाले ७७ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।
लुम्बिनीका ओपनर आशिफ शेख ७ रनमा रनआउट भए। डार्सी सर्ट १३ रन बनाएर आउट भए। पोखराका विपिन खत्रीले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो। पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। उनले १७ बलमा दुई छक्का प्रहार गरे।
कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए। सदिराले ७, अर्जुन घर्तीले ६ र सकिब अल हसनले ३ रन जोडे। विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे।
लुम्बिनीका रुवेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिए।
एनपीएलको पहिलो सिजनमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो। दोस्रो सिजनमा भने लुम्बिनीले पोखरालाई ३ विकेटले हराएको थियो।
यसै दिन भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो। विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। उक्त खेलमा चार अर्धशतक प्रहार भएका थिए।
एनपीएलमा बुधबार विश्राम रहनेछ। बिहीबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्।

