निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन १७ (आइतबार) — यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये हालसम्म ११ दलले मात्रै बैंक खाता खोलेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार निर्वाचनमा हुने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, खर्च सीमाको पालना गराउन तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न बैंक खाता खोल्ने व्यवस्था गरिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारसम्बन्धी आर्थिक कारोबार अनिवार्य रूपमा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ।

Leave a Comment