मोरङमा लागुऔषध तस्करीको आरोपमा तीन जना पक्राउ, प्रहरीको गोली लागेर दुई भारतीय घाइते

पढ्न लाग्ने समय : 2 मिनेट

विराटनगर, १३ कात्तिक। मोरङको रतुवामाईमा लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।

घटना बिहीबार राति करिब साढे ९ बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भएको हो। लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूलाई जाँच गर्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित आएका व्यक्तिहरूलाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेका थिए। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण तथा गोली प्रहारको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन जवाफी कारबाही गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर भारतको अररिया जिल्लाको कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्।
दुवै जनाको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सुरुमा नगर अस्पताल झुर्कियामा सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ।
हेरोइन, पेस्तोल र मोटरसाइकल बरामद
प्रहरीले घटनास्थलबाट दुई भारतीय नागरिकसँगै रतुवामाई नगरपालिका–१, चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुरलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान घरेलु पेस्तोल, एक राउन्ड गोली र दुईवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment