हेटौँडा, कात्तिक १४। लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने सडकमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गर्दै भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार निरन्तरको वर्षाले बाढीपहिरोको जोखिम बढाएको र कुलेखानी जलाशयको पानीको सतहसमेत तीव्र गतिमा बढिरहेका कारण यातायात बन्द गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार शनिबार दिउँसो १२ बजे जलाशयको पानीको सतह १ हजार ५२८.१५ मिटर पुगेको थियो। पानीको बहाव र सतह बढ्ने क्रम जारी रहेकाले साँझ ४ बजेसम्म १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको थियो।
जलाधार क्षेत्रमा थप भारी वर्षा भए जलाशयको सुरक्षाका लागि बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ। त्यसो भए सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
सम्भावित बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नदिन रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो। प्रशासनले तोकिएको अवधिमा उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

