काठमाडौं, कात्तिक १४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यबाट अहिले सात महिनाअघिको तुलनामा बढी तेल प्रवाह भइरहेको दाबी गरेका छन्।
इरानसँगको युद्धका कारण ऊर्जा आपूर्तिमा असर परेको भन्दै भइरहेको आलोचनाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
फ्लोरिडाको डेटोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग युद्ध गर्ने आफ्नो निर्णयको बचाउ गरेका थिए। लामो भाषणका क्रममा उनले पटक–पटक इरानको विषय उठाउँदै इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्याए।
अमेरिकाले इरानलाई आणविक हतियार राख्न कुनै हालतमा नदिने उल्लेख गर्दै ट्रम्पले युद्ध अमेरिकाले सुरु गरेको भन्ने आरोपसमेत अस्वीकार गरे। उनले इरानले धेरै वर्षअघि नै युद्ध सुरु गरेको र सन् १९७९ देखि अमेरिकाविरुद्ध गतिविधि गर्दै आएको दाबी गरे।
युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै भइरहेको आलोचनालाई पनि उनले खारेज गरे। ट्रम्पले आफ्ना डेमोक्र्याट पूर्ववर्ती राष्ट्रपतिहरूको कार्यकालको तुलनामा अहिले पेट्रोलको मूल्य निकै कम स्तरमा झरिरहेको दाबी गरे।
होर्मुज जलडमरूमध्य विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो। यस मार्गबाट हुने तेलको आवागमनमा अवरोध आउँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार प्रभावित हुने भएकाले ट्रम्पको पछिल्लो दाबीलाई ऊर्जा आपूर्तिसम्बन्धी बहससँग जोडेर हेरिएको छ।

