इलाम, कात्तिक १४। चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलाम अस्पतालमा भर्ना गरिएको छ।
अनशनको तेस्रो दिन शनिबार स्वास्थ्यमा जटिलता देखिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरको टोलीले उनलाई अस्पताल पुर्याएको हो।
डा. केसीले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै बिहीबार इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए। चिकित्सा शिक्षा सुधार तथा स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्नुपर्ने मागसहित उनले अनशन थालेका हुन्।
सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएपछि सत्याग्रहमा बस्नुपरेको डा. केसीले बताएका छन्। उनका अनुसार चिकित्सा शिक्षा नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो। त्यसैले यसलाई व्यापारिक स्वार्थको साधन बनाउन नहुने उनको धारणा छ।
चिकित्सा शिक्षाको गुणस्तर कायम राख्ने, निष्पक्ष नियमन गर्ने तथा सार्वजनिक स्वास्थ्य संस्थाहरूको प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने विषयमा कुनै सम्झौता स्वीकार्य नहुने डा. केसीले बताएका छन्।
चिकित्सा शिक्षा सुधार र सर्वसाधारणको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने माग राख्दै डा. केसीले यसअघि पनि पटक–पटक अनशन तथा सत्याग्रह गर्दै आएका छन्। यसपटक अनशनको तेस्रो दिन स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

