देउवा समूहको महाधिवेशन खुलामञ्चमा, पदाधिकारीका लागि राष्ट्रियसभा गृहमा मतदान हुने

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १३ कात्तिक। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ।

महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्य चयनका लागि मतदान खुलामञ्चमा गरिनेछ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइएको छ।
देउवा समूहले महाधिवेशन व्यवस्थापनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप बुक गरिसकेको जनाएको छ। समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका विभिन्न कार्यक्रम सञ्चालन गर्न तीनवटै स्थानको व्यवस्था गरिएको हो।
निर्वाचन समितिका अनुसार खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र तथा केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। सभापतिसहित पदाधिकारी चयनको मतदान भने राष्ट्रियसभा गृहमा गरिनेछ।
त्यस्तै, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि खानाको व्यवस्था गर्न भृकुटीमण्डप बुक गरिएको सदस्यसचिव कार्कीले जानकारी दिएका छन्।
देउवा समूहले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। समूहले आगामी कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउँदै समूहले मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको हो।

Leave a Comment