छिट्टै सत्ता हस्तान्तरण गर्छु, बाँकी प्रतिवेदन सार्वजनिक गर्ने तयारी : प्रधानमन्त्री कार्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनपछि नवनिर्वाचित सरकारलाई छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएकी छन्।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले नयाँ सरकारप्रति जनताका, विशेषगरी युवाका, धेरै अपेक्षा रहेकाले सत्ता हस्तान्तरण चाँडै गर्ने बताइन्।

उनले भनेकी छन्, “नयाँ सरकारसँग युवाको धेरै अपेक्षा छन्, त्यसैले हामी छिट्टै सत्ता हस्तान्तरण गर्छौं।”

निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटकको निर्वाचनमा कुल मतदातामध्ये करिब ४० प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका युवा रहेका छन्।

प्रधानमन्त्री कार्कीले विभिन्न घटनासम्बन्धी जाँचबुझ आयोगका प्रतिवेदन सार्वजनिक गर्ने तयारी पनि भइरहेको जानकारी दिइन्। उनका अनुसार बाँकी रहेका प्रतिवेदन बुझेर सार्वजनिक गर्ने प्रयास सरकारको छ।

गत २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का घटनाबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो। उक्त आयोगको म्याद तेस्रो पटक थपिएको छ र २७ फागुनसम्म कायम गरिएको छ।

Leave a Comment