महाधिवेशनको मितिमै कांग्रेसमा चर्कियो विवाद : इतर समूहले पुस १६ मा गर्ने प्रस्ताव, देउवा पक्ष चुनावपछि मात्र गर्नुपर्ने अडानमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, कात्तिक १४ —
नेपाली कांग्रेसभित्र आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयलाई लिएर तीव्र मतभेद चर्किएको छ। संस्थापन इतर समूहले पुस १६ गतेसम्म पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ भने सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने फागुनको प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ।

डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले पुस १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउन र आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मा दिएको हो।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए।
बैठकमा सहभागी एक नेताले भने, “हाम्रो निष्कर्ष स्पष्ट छ — नियमित महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ। ढिलोमा पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने हाम्रो प्रस्ताव हो।”

इतर समूहले चुनावअघि नै नयाँ नेतृत्व चयन गरेर पार्टीलाई सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ। महामन्त्रीद्वयले उक्त प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेर आजकै केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने तयारी गरेका छन्।

तर, देउवा पक्ष भने निर्वाचनको तयारीमा ध्यान दिनुपर्ने भन्दै महाधिवेशन चुनावपछि मात्र गर्नुपर्ने अडानमा अडिग छ।
संस्थापन पक्षका नेताहरूले अहिले महाधिवेशनमा जाँदा निर्वाचन तयारीमा बाधा पुग्ने तर्क गरेका छन्। नेता विमलेन्द्र निधि भन्छन्, “फागुनमा चुनाव हुँदैछ, त्यसअघि महाधिवेशन गर्नु भनेको चुनावमा बाधा पार्नु हो।”

दुई महामन्त्री र संस्थापन इतर समूहको दबाब

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। उनीहरूका अनुसार पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग दर्ता भएपछि तीन महिनाभित्र आव्हान गर्नुपर्छ।

२९ असोजमा कार्यवाहक सभापति खड्कालाई बुझाइएको विशेष महाधिवेशनको मागमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर परेको दाबी गरिएको छ।
महामन्त्री थापाले भनेका छन्, “विशेष महाधिवेशन हुन सक्दैन भन्ने अधिकार कसैसँग छैन। महाधिवेशन प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गरेर माग गरेका हुन्।”

संस्थापन पक्षको शंका र फुटको आशंका

संस्थापन पक्षले भने विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षरहरूको वैधानिकता नै प्रश्नवाचक रहेको बताउँदै त्यसबाट पार्टी फुट्ने सम्भावना देखाएको छ।
नेता निधि भन्छन्, “यसरी जबर्जस्ती विशेष महाधिवेशन गर्न खोज्दा पार्टी फुट्ने दिशामा जान सक्छ।”
त्यस्तै नेता कृष्णप्रसाद सिटौलाले पनि दुई महामन्त्रीको सक्रियतामा भएको हस्ताक्षर अभियानले पार्टीमा विभाजनको खतरा निम्त्याउन सक्ने बताएका छन्।

कार्यकाल सकिँदै, समय दबाब बढ्दै

सभापति शेरबहादुर देउवा नेतृत्वको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ।
महामन्त्री पक्षले कार्यकाल थप्ने कुनै औचित्य नरहेको भन्दै मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् भने देउवा पक्षले कार्यकाल थपेर फागुनको चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

महामन्त्री थापाले भने, “पार्टी नेताहरूले इच्छाशक्ति राखे भने नियमित महाधिवेशन मंसिरमा गर्न सकिन्छ। क्रियाशील सदस्यको काम दुई दिनमै टुंग्याउन सकिन्छ, चाहना भए।”

Leave a comment