न्युजिल्यान्डलाई हराउँदै भारत लगातार दोस्रो पटक टी–२० विश्वकप च्याम्पियन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २४ फागुन। घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको छ। यस जितसँगै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपको ट्रफी उचालेको हो।

भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो। भारतका लागि जसप्रित बुमराहले घातक बलिङ गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिए। हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान एक–एक विकेट लिए।

न्युजिल्यान्डका लागि ओपनर टिम साइफेर्टले ५२ रन बनाएर सर्वाधिक योगदान दिए। कप्तान मिचेल सान्टनरले ४३ रन जोडे भने डारिल मिचेलले १८ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल स्कोर बनाएको थियो।

भारतका लागि सञ्जु सामसनले उत्कृष्ट ८९ रन बनाए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए भने इसान किशनले ५४ रनको योगदान दिए। शिवम दुबे २६ रनमा अविजित रहे।

न्युजिल्यान्डका लागि जिमी निसमले ३ विकेट लिए भने म्याट हेन्री र रचिन रविन्द्रले समान एक–एक विकेट लिए।

यस जितसँगै भारत टी–२० विश्वकपमा तीन पटक उपाधि जित्ने पहिलो टोली बनेको छ। यसअघि भारतले सन् २००७ र २०२४ मा पनि उपाधि जितेको थियो।

Leave a Comment