काठमाडौँ, २५ फागुन। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम अन्तिम चरणमा पुगिरहेका बेला समानुपातिकतर्फको मतगणना पनि तीव्र रूपमा जारी छ।
निर्वाचन आयोगका अनुसार सोमबार बिहान ६ बजेसम्म समानुपातिक प्रणालीतर्फ ७६ लाख ४४ हजार ४८४ मत गणना भइसकेको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मतसहित अग्रस्थानमा रहेको छ।
अहिलेसम्म रास्वपाले ३६ लाख ९७ हजार ७४२ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि १२४ सिट जितिसकेको रास्वपा समानुपातिकतर्फ पनि स्पष्ट रूपमा अगाडि देखिएको छ।
त्यसैगरी नेपाली कांग्रेस ले समानुपातिकतर्फ १२ लाख ४८ हजार ६३९ मत प्राप्त गरेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ।
नेकपा एमाले ले समानुपातिकतर्फ १० लाख ५८ हजार २९१ मत प्राप्त गरेको छ। एमालेले प्रत्यक्षतर्फ हालसम्म ८ सिट जितेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ५ लाख ४३ हजार ९५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
अन्य दलहरूको मतस्थिति पनि क्रमशः सार्वजनिक भइरहेको छ।
राजावादी धारको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ६० हजार ५३४ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टी ले २ लाख ४९ हजार २११ मत ल्याएको छ। हर्क राई नेतृत्वको उक्त पार्टीले पहिलो पटक ठूलो संख्यामा मत प्राप्त गर्दै चर्चा कमाएको छ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ११ हजार ५७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ३ हजार ५६७ मत ल्याएको छ।
अन्य दलहरूको मतस्थिति यसप्रकार छ:
जनमत पार्टी – ४७ हजार ३७९
नागरिक उन्मुक्ति पार्टी – ४० हजार ६७५
नेमकिपा – ३८ हजार ३३१
राष्ट्रिय जनमोर्चा – २५ हजार ९८१
राष्ट्र निर्माण दल – २४ हजार ९४९
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।






