१० चैत,जनकपुरधाम — आज देशभर श्रद्धा र भक्तिका साथ चैती छठ पर्व मनाइँदै छ भने मिथिलाञ्चल क्षेत्रमा यसको विशेष रौनक देखिएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन षष्ठी तिथिमा व्रतालुहरू जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पूजा आराधना गर्छन् । तराई मधेशका साथै काठमाडौं, पोखरा, धरान, इटहरी लगायत विभिन्न शहरमा पनि श्रद्धालुहरूले छठ पर्व मनाइरहेका छन् । विशेषगरी मिथिला क्षेत्रमा भने परम्परागत विधि, लोकगीत र सामूहिक सहभागितासहित पर्वको विशेष महत्व देखिन्छ । व्रतालुहरूले घरमा तयार पारिएका ठकुवा, भुसवा, खजुरिया लगायतका परिकार तथा फलफूल लिएर छठ घाटमा पुग्ने गर्छन् र साँझपख पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । यसअघि नहाखा र खर्ना विधि सम्पन्न भइसकेको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन हुनेछ । धार्मिक विश्वासअनुसार यस पर्वले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने मान्यता रहेको छ ।

