इरान–अमेरिका युद्ध: १३ अमेरिकी सैनिक मारिए, हजारौँको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मङ्गलबार ३ चैत, २०८२-काठमाडौँ — इरानसँग जारी युद्धका क्रममा अमेरिकी सेनातर्फ १३ सैनिकको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्। अमेरिकी सैन्य अधिकारीहरूले हालसम्मको क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको द्वन्द्व अझै चर्किँदै गएको छ। सो हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या भएको दाबी गरिएको छ, जसपछि क्षेत्रीय तनाव तीव्र बनेको हो।

आक्रमणको प्रतिकारस्वरूप इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। यसले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्व फैलिएको छ।

इरानको दाबीअनुसार हालसम्म इजरायल–अमेरिकाको आक्रमणबाट ३ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। इरानी ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये १ हजार ३५१ सर्वसाधारण र १ हजार १२६ सैन्यकर्मी रहेका छन्।

यस्तै, लेबननमा पनि युद्धको असर देखिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८८६ जनाको मृत्यु भइसकेको छ, जसमा ६७ महिला र १११ बालबालिका रहेका छन्।

यसबीच संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया, बहराइन र ओमानले समेत युद्धका कारण आफ्ना नागरिकको ज्यान गएको पुष्टि गरेका छन्।

क्षेत्रीय तनाव अझ बढ्दै जाँदा मध्यपूर्वमा मानवीय संकट गहिरिँदै जाने चिन्ता व्यक्त गरिएको छ।

Leave a Comment