पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपतिको आह्वान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, चैत ८, २०८२ — राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरोकारवाला पक्षलाई सहकार्य र समन्वयका साथ अघि बढ्न आह्वान गरेका छन्।

विश्व पानी दिवस २०२६ (मार्च २२) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले खानेपानी व्यवस्थापनका सबै तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

राष्ट्रपति पौडेलले पानीलाई जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधारका रूपमा उल्लेख गर्दै मानव सभ्यताको विकासदेखि नै यसको महत्वपूर्ण भूमिका रहेको बताए। उनले भनेका छन् कि प्राचीन सभ्यताहरू नदी किनारमा विकसित भएका थिए भने अहिलेको अवस्थामा जीवनको अस्तित्व जोगाउन पानी र प्रकृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

उनले भूमिगत जलस्रोतलाई महत्वपूर्ण प्राकृतिक सम्पदा भन्दै यसले पारिस्थितिकीय सन्तुलन कायम राख्न, नदी प्रवाह व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव कम गर्न तथा सुरक्षित पिउने पानी उपलब्ध गराउन सहयोग गर्ने बताए।

तर बढ्दो सहरीकरण, अव्यवस्थित पूर्वाधार निर्माण, प्रदूषण तथा जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको उनको भनाइ छ। भूमिगत पानीको अत्यधिक दोहन र पक्की संरचनाका कारण पुनर्भरण प्रक्रिया अवरुद्ध हुँदा जमिनमुनिको पानीको सतह घट्दै गएको उनले उल्लेख गरेका छन्।

राष्ट्रपतिले भविष्यमा आउन सक्ने जलसंकटलाई ध्यानमा राख्दै जलाधार क्षेत्रको संरक्षण, आहाल, पोखरी र तालतलैयाहरूको निर्माण तथा परम्परागत जल संरक्षण विधिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइँदै आएको छ। यस वर्ष नेपालमा ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न प्रभावकारी नीतिको आवश्यकता औँल्याएका छन्।

उनले पानी जीवनको आधार भएकाले यसको संरक्षण र समुचित उपयोग सबैको साझा जिम्मेवारी भएको बताए। पछिल्लो समय नेपाल जलसंकटको चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने दर बढेको बताए।

उनका अनुसार तराई–मधेस क्षेत्रमा भूमिगत पानीको स्तर घट्दो अवस्थामा छ भने पहाडी क्षेत्रमा झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्। प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनका कारण जलाशयहरूको क्षमता समेत घट्दै गएको छ।

उपराष्ट्रपति यादवले यी चुनौती समाधानका लागि स्थानीय समुदायको सहभागिता, वैज्ञानिक दृष्टिकोण तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए। पानीको संरक्षणलाई वातावरणीय मात्र नभई राष्ट्रिय अस्तित्व र भविष्यसँग जोडिएको विषयका रूपमा लिनुपर्नेमा उनले जोड दिए।

उनले नदी, ताल, झरना र भूमिगत जलस्रोतको दीर्घकालीन संरक्षण, पानीको भण्डारण, पुनःप्रयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उल्लेख गरे। साथै, पानी व्यवस्थापनमा महिलाहरूको भूमिकालाई मान्यता दिँदै सामाजिक समानता सुदृढ गर्नुपर्ने उनको भनाइ छ।

Leave a Comment