१४ चैत, काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीका अनुसार पक्राउका लागि आवश्यक कागजातहरू तयार भइसकेका छन्।
उनले भने, “सबै प्रक्रिया पूरा भइसकेको छ। हामीले कागजात सबै तयार पारेका छौं।”
ओली र लेखकको निवास क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिएका छन्।
नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सोही प्रतिवेदनमा ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए। प्रहरीले सरकारसँग औपचारिक रूपमा लिखित आदेश मागेको थियो।
मध्यराति कानुन मन्त्रालयका सचिवलाई समेत प्रहरी मुख्यालय बोलाइएको थियो।
त्यसपछि लिखित आदेश तयार गरी प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ।
मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान गएको कसुरमा कारबाही गर्न सकिने उल्लेख छ।






