कच्ची घरमा सुतिरहेकी महिलामाथि जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

पढ्न लाग्ने समय : 1 मिनेट

कञ्चनपुर, २५ कात्तिक। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीले डगौराको कच्ची घरमा आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घर भत्किँदा उनी घटनास्थलमै ज्यान गुमाउन पुगेकी हुन्।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान प्रवेश गरेको थियो। हात्तीको बथानले डगौराको घरसमेत भत्काएको छ।
घटनाका क्रममा उनका श्रीमान् मोहन डगौराले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ।
जंगली हात्ती बस्तीमा प्रवेश गरेर घर भत्काउने र मानवीय क्षति पुर्‍याउने घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

Leave a Comment