काठमाडौं, २५ कात्तिक। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज बुधबार देशभर भाइटीका पर्व हर्षोल्लास र धार्मिक परम्पराअनुसार मनाइँदैछ।
यस अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।
हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको प्रमुख पर्व हो। यसलाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी निधारमा टीका लगाइदिने र फूलका माला पहिर्याउने गर्छन्। त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट रहेको छ। यद्यपि दिनभर टीका लगाउन कुनै बाधा नरहेको उनले जानकारी दिए। राज्य सञ्चालकले भने निर्धारित शुभ साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
यस वर्ष भाइटीका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसरी टीका लगाउँदा चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको छ। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायत देवताको पूजा गरिन्छ। साथै चित्रगुप्त, यमराज, यमुना र धर्मराजको पनि आराधना गरिन्छ।
पूजापछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले घेरेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्याउने गर्छन्। टीका लगाएपछि ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार खुवाउने परम्परा छ। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा, उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला
भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर श्रद्धालुका लागि खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ।
यसैगरी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनले जानकारी दिएका छन्।
उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिएको थियो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर टीका लगाउने गर्थे।
विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो। २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि २०७७ सालसम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माणपछि २०७७ सालदेखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो।
नेवार समुदायमा किजापूजा
भाइटीकाको दिन नेवार समुदायले किजापूजा मनाउने गर्छन्। पारिवारिक तथा कुल परम्पराअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने चलन छ।
भक्तपुरका अधिकांश नेवार समुदायले यस वर्ष मंगलबार नै किजापूजा गरेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार भक्तपुरमा अघिल्लो दिन नै किजापूजा सम्पन्न गरिएको हो।

