काठमाडौं, चैत २३ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति उत्कृष्ट प्रदर्शन गरेका छन्।
मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा अविजित ७० रन बनाए। उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे।
१५ औँ ओभरमा ब्याटिङ गर्न आएका डेभिड पुरुष टी–२० क्रिकेटमा १५औँ ओभरपछि क्रिजमा प्रवेश गरेर ७० भन्दा बढी रन बनाउने विश्वका दोस्रो ब्याटर बने। यसअघि सन् २०२२ मा ड्यानियल साम्सले ७१ रन बनाएका थिए।
आरसीबीले बनाएको २५० रनको योगफल आईपीएलमा उसको तेस्रो ठूलो स्कोर हो। यो चेन्नईविरुद्ध कुनै पनि टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर पनि हो।
आरसीबीले आईपीएलमा २५० भन्दा बढी रन बनाएको यो तेस्रो पटक हो। यसअघि सनराइजर्स हैदरावादले पाँच पटक यस्तो उपलब्धि हासिल गरेको छ।
यस खेलमा आरसीबीले चेन्नईविरुद्ध ४३ रनले जित निकालेको हो। चेन्नईविरुद्ध लगातार चार खेल जितेको यो आरसीबीको पहिलो अवसर हो।
इनिङ्सको अन्तिम ५ ओभरमा आरसीबीले ९७ रन जोडेको थियो, जुन आईपीएल इतिहासमा संयुक्त रूपमा दोस्रो धेरै हो।
त्यस्तै, अन्तिम १० ओभरमा आरसीबीका ब्याटरले १६ छक्का प्रहार गर्दै १५९ रन जोडे, जुन आईपीएल इतिहासको उच्च स्कोरमध्ये एक हो।

