प्रहरीको गोली लागेर घाइते १५ वर्षीय आदित्यलाई हेलिकप्टरबाट काठमाडौं लगियो

पढ्न लाग्ने समय : 2 मिनेट

बारा, १६ कात्तिक। बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत उनलाई आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मीनबहादुर घलेले जानकारी दिएका छन्।
फेटा–३ निवासी धर्मेन्द्र पासवानका छोरा आदित्यलाई उपचारका क्रममा शल्यक्रिया गरेर गोली निकालिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो। आदित्यसँगै उनका बुवा धर्मेन्द्र पनि काठमाडौं गएका छन्।
शनिबार नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा स्थानीयवासी र प्रहरीबीच विवाद हुँदा झडप भएको थियो। अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा अन्य सेवा–सुविधा सुनिश्चित गरेपछि मात्र उद्घाटन गर्नुपर्ने माग राख्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य घाइते भएका थिए। झडपका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।
घटनाको स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ। टोलीमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्। टोलीलाई घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मीनबहादुर घलेले जानकारी दिएका छन्।
लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको पनि प्रवक्ता घलेले बताएका छन्।

Leave a Comment