आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने : अर्थमन्त्री डा. स्वार्णिम वाग्ले

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत २३ — अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित रहने बताएका छन्।

सिंहदरबारस्थित कार्यकक्षमा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)का प्रतिनिधिसँग भएको छलफलमा मन्त्री वाग्लेले सरकारको प्राथमिकता राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्नु रहेको स्पष्ट पारे।

उनका अनुसार आगामी बजेटमा सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ। गोरखकालीलगायत केही संस्थानलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई सरकारले थप सशक्त बनाएको उल्लेख गर्दै नियमविपरीत आर्थिक कारोबारमा संलग्नलाई कारबाही गरिने बताए। यस्ता अनुसन्धानका कारण केही समूह आत्तिएको पनि उनले संकेत गरे।

नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउने लक्ष्यसहित सरकारले लामो समयदेखि थन्किएका मुद्दाहरूलाई पुनः सक्रिय रूपमा अगाडि बढाएको उनले बताए।

मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वप्रति सरकार सचेत रहेको उल्लेख गर्दै उनले आवश्यक सावधानी अपनाइएको र हालै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।

विदेशमा रहेका नेपालीहरूको सन्दर्भमा मन्त्री वाग्लेले सबैलाई एकैपटक स्वदेश फर्काउनेभन्दा समस्या परेका नागरिकको प्राथमिकताका आधारमा उद्धार भइरहेको स्पष्ट पारे।

Leave a Comment