काठमाडौँ, शनिबार, माघ २४, २०८२ : निर्वाचन आयोगले निर्वाचनलाई प्रभावित पार्ने मिथ्या तथा भ्रामक सूचना नियन्त्रणका लागि सक्रिय भूमिका खेलिरहेको जनाएको छ। सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, हेट स्पिच तथा अफवाह नियन्त्रण गर्न आयोगले विभिन्न डिजिटल प्लेटफर्मसँग सहकार्य बढाएको बताइएको छ।
निर्वाचन आयोगकी सदस्य जानकीकुमारी तुलाधरका अनुसार मिथ्या सूचना नियन्त्रण आयोगको प्राथमिकतामा रहेको विषय हो। उनले सामाजिक सञ्जाल कम्पनीहरूसँग समझदारीपत्र (एमओयू) गरी सहकार्य अघि बढाइएको जानकारी दिइन्।
‘मिथ्या सूचना, भ्रामक सूचना र हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने विषयमा आयोग निरन्तर सचेत छ,’ उनले भनिन्, ‘यसै क्रममा मेटा, टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मसँग सम्झौता भइरहेको छ।’
तुलाधरका अनुसार फेसबुक, ह्वाट्सएप र टिकटकमार्फत फैलिएका गलत सूचनाहरू हटाउन सम्बन्धित कम्पनीहरूले सहयोग गर्दै आएका छन्। यसले निर्वाचनसम्बन्धी सूचनालाई विश्वसनीय बनाउने र मतदातालाई भ्रममा पार्ने प्रयास रोक्न मद्दत पुगेको आयोगको ठहर छ।
यसका साथै मिथ्या सूचना नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीको साइबर ब्युरोसँग समेत सहकार्य गरिएको छ। आयोग परिसरमै आवश्यक उपकरणसहित साइबर ब्युरोको टोली परिचालन गरिएको उनले बताइन्।
‘उपकरणसहितको साइबर ब्युरोलाई आयोगमै राखेर निगरानी गरिएको छ,’ उनले दोहोर्याउँदै भनिन्, ‘डिजिटल माध्यमबाट फैलिने मिथ्या सूचना नियन्त्रणमा यसले ठूलो सहयोग पुर्याएको छ।’
निर्वाचन आयोगले आगामी दिनमा पनि डिजिटल प्लेटफर्मसँग सहकार्यलाई अझ सुदृढ बनाउँदै निष्पक्ष, स्वच्छ र भ्रामक सूचनामुक्त निर्वाचन वातावरण निर्माणमा जोड दिने जनाएको छ।

