दुवै सदनको बैठक बस्दै, प्रतिवेदन र विधेयक पेस हुने
काठमाडौं, २५ चैत २०८२ — संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। तय कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा सुरु हुनेछ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। सो विधेयक अघि बढाउन अनुमति माग्ने प्रस्ताव पनि बैठकमा राखिनेछ। साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।
आजका बैठकहरूमा विभिन्न प्रतिवेदन र विधेयकमाथि छलफल हुने अपेक्षा गरिएको छ।

