काठमाडौं, २५ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार परम्परागत विधिअनुसार यस वर्षको भाइटीका लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितले बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेललाई भाइटीका लगाइदिएकी हुन्।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गरिन्। राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार र दक्षिणा प्रदान गरेका थिए।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भाइटीका कार्यक्रम पारिवारिक वातावरणमा परम्परागत विधिअनुसार सम्पन्न भएको हो।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाउने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर आपसी प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्ने गर्छन्।

