जेन्जी युथ बाराद्वारा कलैया अस्पतालको सेवा सुधारको लागि अनुगमन, सेवा र व्यवस्थापनमा कमजोरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, चैत २५-जेन्जी युथ बाराको टोलीले प्रादेशिक अस्पताल, कलैयामा अनुगमन गर्दै सेवा प्रवाह, व्यवस्थापन तथा पूर्वाधारमा विभिन्न समस्या फेला पारेको छ।

टोलीका सौरभ पान्डेका अनुसार हाजिरी रजिस्टर जाँच गर्दा डाक्टरहरूको हस्ताक्षर नियमित नभएको पाइएको छ भने प्रयोगशालाका कर्मचारी ढिलो आउने गरेको गुनासो पनि भेटिएको छ। यसले बिरामी सेवामा प्रत्यक्ष असर परेको जनाइएको छ।

अस्पताल परिसरमा फोहोर व्यवस्थापन कमजोर रहेको, पार्किङको उचित व्यवस्था नभएको तथा मुख्य गेट बाहिर गुट्खा–चुरोट बिक्री भइरहेको अवस्था देखिएको टोलीले जनाएको छ।

त्यस्तै, अस्पतालमै सेवा हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्यत्र “रिफर” गर्ने र बाहिर परीक्षण गराउन पठाउने प्रवृत्ति पनि भेटिएको छ।

अनुगमनका क्रममा आवश्यक उपकरण, जनशक्ति र पूर्वाधारको अभाव रहेको, शौचालयमा पानीको समस्या रहेको तथा निःशुल्क औषधि पर्याप्त नभएको विषय पनि उठाइएको छ।

जेन्जी युथ बाराले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गर्दै अस्पताल व्यवस्थापनलाई सेवा सुधारका लागि आवश्यक कदम चाल्न सुझाव दिएको छ।

Leave a Comment