२७ चैत २०८२, शुक्रबार,काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
हप्तामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू भएपछि स्वास्थ्य सेवा प्रभावित हुने गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अस्पतालहरूले उपलब्ध जनशक्ति र कार्यभारको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ।
उनका अनुसार सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन सबै अस्पताल तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
कर्मचारी व्यवस्थापनका सन्दर्भमा भने हप्तामा शनिबार बाहेक अर्को एक दिन बिदा दिनुपर्नेछ। यदि सोही अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
यस व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा पनि लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।

