सोमबार, ३० चैत २०८२,काठमाडौँ — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ३३ वटा मोटरसाइकल र १७ वटा स्कुटर आज धनीलाई बुझाएका हुन्।
ट्राफिक प्रहरीका अनुसार प्राप्त निवेदन तथा विभिन्न सूचनाका आधारमा खोजी गर्दा केही सवारी साधन वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला पारिएका थिए।
यी सवारी साधनहरू भिमढुङ्गा, स्वयम्भु, नेपालटार, चमती, कपन, थली, बौद्ध, साँखु, नयाँबस्ती, गोकर्ण, माछापोखरी, महाराजगञ्ज, सुकेधारा, पुल्चोक, साङ्ला, फस्कु, चापागाउँ, गठ्ठाघर, एयरपोर्ट, कमलबिनायक, मालिगाउँ, काँडाघारी, जनसेवा, जम्बुडाँडा, मण्डिकाटार र चुनदेवी लगायतका स्थानबाट बरामद गरिएको थियो।
आज हस्तान्तरण गरिएका ५० वटा सहित गत साउन यता ३९४ वटा सवारी साधन धनीलाई बुझाइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी चोरीमा संलग्न ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ। साथै २२ वटा चोरीका दुई पाङ्ग्रे सवारी साधन पनि बरामद गरिएको छ।
सवारी साधन फिर्ता पाएपछि धनीहरूले खुशी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।
ट्राफिक प्रहरी कार्यालयले सवारी चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन र जीपीएस जडान गर्न सुझाव दिएको छ। साथै सुनसान स्थानमा सवारी पार्किङ नगर्न पनि अनुरोध गरिएको छ।
सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी दिइएको छ।

