काठमाडौँ — सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विकको घटनाले राजनीतिक र सामाजिक तरंग ल्याएको छ। घटनापछि दलित समुदायका सांसदहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् भने पीडित परिवारले शव बुझ्न अस्वीकार गरेको छ।
सुनकोसी गाउँपालिका–३ का विकले खोटाङकी एक किशोरीसँग अन्तरजातीय प्रेमविवाह गरेका थिए। त्यसपछि केटी पक्षले जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता गराएपछि उनी पक्राउ परेका थिए। काठमाडौँबाट सिन्धुली पठाइएका विकले वैशाख ७ गते हिरासतमै सर्टको पासो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीको दाबी छ। तर उपचारका क्रममा सोही साँझ उनको मृत्यु भएको थियो।
परिवारले भने घटनालाई शंकास्पद भन्दै आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको आरोप लगाएको छ। मृतककी आमा बिन्दामाया विकले प्रहरीले घटनाबारे स्पष्ट जानकारी नदिएको र छोरालाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरेकी छन्।
घटनाको विरोधमा खगेन्द्र सुनारसहित रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेललगायत सांसदहरू धर्नामा बसेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
सांसदहरूले स्किम श्रेष्ठ, लालध्वज सुवेदीलगायत सम्बन्धित प्रहरी अधिकारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग अघि सारेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीले भने झुन्डिएको अवस्थामा उद्धार गरेर अस्पताल लगिएको र घटनाबारे गलत सूचना फैलिएको दाबी गरेका छन्।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडानमा रहेको परिवार र आन्दोलनरत सांसदहरूको दबाबबीच यो प्रकरण थप जटिल बन्दै गएको छ।
अन्तरजातीय प्रेमविवाह गर्दा हिरासतमा मृत्यु प्रकरण: सांसदहरूले थाले अनिश्चितकालीन धर्ना पाँच दिनदेखि शव अस्पतालमै, न्याय नपाएसम्म नबुझ्ने परिवारको
Leave a Comment
Leave a Comment

