सूर्य नेपाल एनपीजीए म्याच प्ले: निरज र टंक उपाधिनजिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

ललितपुर, वैशाख ३ — सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको छैटौँ प्रतियोगिता ‘एनपीजीए म्याच प्ले’ मा साबिक विजेता निरज तामाङ र टंकबहादुर कार्की फाइनलमा प्रवेश गरेका छन्। रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न सेमिफाइनल खेलपछि दुवै खेलाडी उपाधि नजिक पुगेका हुन्।
नेपाल नम्बर एक निरज तामाङले सेमिफाइनलमा चौथो वरीयताका सञ्जय लामालाई ६/५ को फराकिलो अन्तरले हराउँदै आफ्नो प्रभुत्व कायम राखे। सुरुवाती नौ होल सकिँदासम्म दुई होलले अगाडि रहेका निरजले त्यसपछि लगातार चार होल जित्दै खेललाई एकतर्फी बनाए। उनले यसअघि क्वाटरफाइनलमा रामे मगरलाई २/१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।
अर्कोतर्फ, टंकबहादुर कार्कीले अनुभवी रवि खड्कालाई ३/२ ले हराउँदै पहिलो पटक म्याच प्लेको फाइनल यात्रा तय गरे। खेलको सुरुआती चरणमै अग्रता बनाएका टंकले नौ होलपछि तीन होलको दूरी कायम गरेका थिए। यद्यपि, रविले १०औँ र ११औँ होल जित्दै खेलमा फर्किने प्रयास गरे पनि टंकले पुनः नियन्त्रणमा लिँदै १६औँ होलमै खेल टुंग्याए।
अब उपाधिका लागि निरज र टंकबीच प्रतिस्पर्धा हुने भएको छ, जहाँ अनुभवी च्याम्पियन र उदाउँदो चुनौतीकर्ताबीच रोचक भिडन्त हुने अपेक्षा गरिएको छ।

Leave a Comment