काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख हेर्ने’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिनलाई जीवित आमाप्रति सम्मान प्रकट गर्ने तथा दिवंगत आमाको स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ।
परम्पराअनुसार सन्तानले आमालाई मीठा–मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशिर्वाद थाप्ने चलन छ। आमाको सम्मानलाई उच्च स्थान दिँदै धार्मिक शास्त्रमा समेत आमा पिताभन्दा महान् मानिएको उल्लेख पाइन्छ।
आमा नभएकाहरूले भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा ब्राह्मणलाई सिदादान गरी श्रद्धाञ्जली अर्पण गर्छन्। यस्तो कर्म गरे दिवंगत आमाले सन्तानलाई आशीर्वाद दिने धार्मिक विश्वास छ।
वैदिक परम्पराअनुसार प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता रहेको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्त्व विशेष रूपमा वर्णन गरिएको छ।
यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लागेको छ। यहाँ बिहानैदेखि भक्तजनको भीड लागेको छ भने मेलाको सम्पूर्ण तयारी पूरा गरिएको स्थानीय प्रशासनले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण यस पर्वले आमा र सन्तानबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
वैशाख कृष्ण औँसीमा ‘आमाको मुख हेर्ने’ पर्व, मातातीर्थमा मेला
Leave a Comment
Leave a Comment

