५ वैशाख, बारा। राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क संकलन कार्य बारा जिल्लामा वैशाख २ गतेदेखि सुरु भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको यो कार्यक्रमले देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराका अनुसार यो दोस्रो राष्ट्रिय आर्थिक गणना हो, जसको स्थलगत कार्य २०८३ असार ७ गतेसम्म सञ्चालन हुनेछ। गणनालाई प्रभावकारी बनाउन यसअघि जिल्लास्तरीय र पालिकास्तरीय अन्तर्क्रिया कार्यक्रममार्फत सरोकारवालासँग समन्वय गरिएको थियो।
यस गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी अवस्था, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विवरण संकलन गरिनेछ। कार्यालयका अनुसार संकलित तथ्याङ्कको आधारमा आगामी आर्थिक वर्षदेखि नै विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
आर्थिक गणनामा संकलन गरिने व्यक्तिगत तथा व्यावसायिक विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य रहनेछन्। ती विवरणहरू केवल सांख्यिकीय तथा योजना निर्माणका प्रयोजनका लागि मात्र प्रयोग गरिने र व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी सार्वजनिक नगरिने स्पष्ट पारिएको छ।
अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार विभिन्न आर्थिक क्षेत्र समेटेर सञ्चालन भइरहेको यस गणनामा दर्ता भएका तथा नभएका साना–ठूला उद्योग, व्यापार–व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरू समावेश गरिएको आर्थिक गणना जिल्ला अधिकारी राजेश दासले बताए । तर कूटनीतिक नियोग, सुरक्षा निकाय तथा सामान्य घरायसी क्रियाकलाप भने यसमा नसमेटिएका उनले बताए।
बारा जिल्लामा गणना सम्पन्न गर्न तालिमप्राप्त गणक र सुपरिवेक्षकहरू परिचालन गरिएको छ, जसले व्यवसाय तथा प्रतिष्ठानमै पुगेर तथ्याङ्क संकलन गरिरहेका छन्। देशभरिका जिल्लाहरूमा पनि सोहीअनुसार गणना कार्य सञ्चालन भइरहेको छ।
यसपटक गणनालाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ। इच्छुक व्यवसायी तथा प्रतिष्ठानहरूले “ई-सेन्सस” प्लेटफर्म प्रयोग गरी आफ्नो विवरण आफैं प्रविष्ट गर्न सक्नेछन्। साथै, गणनासम्बन्धी जानकारी र सहजीकरणका लागि वेबपोर्टल, डिजिटल नक्सा प्रणाली तथा केन्द्रमा कन्ट्रोल रुमसमेत सञ्चालनमा ल्याइएको छ।
कार्यालयले आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले देशको आर्थिक संरचना बुझ्न, नीति निर्माण गर्न, लगानी प्रवर्द्धन गर्न तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै, सही र पूर्ण विवरण उपलब्ध गराई गणनामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालासँग आग्रह गरिएको छ।
बारामा दोस्रो आर्थिक गणना सुरु, व्यक्तिगत विवरण गोप्य रहने
Leave a Comment
Leave a Comment

