स्वदेशी बजारको उपेक्षा र सीमावर्ती व्यापारको पासो: आर्थिक अनुशासन र भविष्यको संकट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

नेपाली उपभोक्ताहरूमाझ “सिमाना पारि भारतीय बजारमा सामान सस्तो छ, नेपालका व्यापारीहरूले बढी नाफा खाएर हामीलाई लुटेका छन्” भन्ने जुन सतही धारणा व्याप्त छ।

त्यसले वर्तमानमा केही रुपैयाँ बचत भएको भान पारे पनि यसको भित्री आर्थिक यथार्थ निकै भयावह र गम्भीर छ, किनकि जब एक नेपाली उपभोक्ताले सीमा पारिको बजारमा पुगेर रकम खर्च गर्छ, तब त्यो पुँजीले नेपालको बाटो, विद्यालय, अस्पताल वा कुनै पनि सार्वजनिक पूर्वाधार निर्माणमा एक पैसा पनि योगदान पुर्‍याउँदैन, बरु त्यो सबै पुँजी पलायन भएर छिमेकी देशको अर्थतन्त्र र विकासमा ऊर्जा थप्न पुग्छ भने अर्कोतर्फ सस्तोको प्रलोभनमा परेर सीमा पारि जाने हाम्रो यो प्रवृत्तिले बिस्तारै हाम्रा आफ्नै गल्ली र चोकका पसलहरूलाई आर्थिक रूपमा धराशायी बनाउँदै लगेको छ, जसको प्रत्यक्ष परिणाम स्वरूप भोलि हाम्रा सबै स्वदेशी पसलहरू बन्द हुने अवस्था आएमा हामी पूर्ण रूपमा विदेशी बजारको अधिनमा पर्नुपर्ने निश्चित छ र यस्तो चरम परनिर्भरताको अवस्थामा विदेशी व्यापारीले ५० रुपैयाँ पर्ने सामानलाई १५० रुपैयाँ मूल्य तोके पनि हामीले प्रतिवाद गर्न सक्ने छैनौँ, किनकि हामीले आफ्नो स्थानीय बजार र वितरण प्रणालीलाई आफैँले सिध्याइसकेका हुनेछौँ, त्यसैले यो केवल “एक किलो चिनी वा एक लिटर तेल” सस्तोमा पाउनुको मात्र विषय नभएर राष्ट्रिय आर्थिक अनुशासन, आन्तरिक बजारको सुरक्षा र दीर्घकालीन आर्थिक स्थिरताको गम्भीर सवाल हो, जहाँ स्वदेशी पसलमा सामान किन्दा तिरिएको करले देशकै ढुकुटी बलियो बनाउँदै राज्यलाई आफ्ना नागरिकका लागि सेवा सुविधाहरू उपलब्ध गराउन सक्षम बनाउँछ तर सीमा पारिको अनौपचारिक व्यापारले राज्यको राजस्वमा ठूलो खाडल मात्र पार्दैन, बरु स्थानीय रोजगारी र उत्पादनलाई समेत निरुत्साहित गर्छ, अत: यदि हामीले समयमै यो आर्थिक चक्रलाई बुझेर आफ्नै बजारलाई संरक्षण र प्रवद्र्धन गरेनौँ भने अहिले देखिएको सामान्य बचत भोलिको ठूलो मूल्यवृद्धि र चरम परनिर्भरताको मुख्य कारण बन्ने निश्चित भएकाले सस्तोको पछि लाग्नुभन्दा पहिले आफ्नो राष्ट्रको अर्थतन्त्र र भावी पुस्ताको आर्थिक भविष्यको बारेमा सोच्नु र स्वदेशी बजारलाई माया गर्नु प्रत्येक सचेत नागरिकको राष्ट्रिय दायित्व हुन आएको छ।

Leave a Comment