काठमाडौँ, वैशाख ६ — सर्वोच्च अदालतले गगनकुमार थापाको नेतृत्वलाई वैधानिकता दिएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति नयाँ मोडमा पुगेको छ। एकातिर शेरबहादुर देउवा पक्ष ‘पर्ख र हेर’ रणनीतिमा देखिएको छ भने अर्कोतिर सभापति थापाले एकताको पहल अघि बढाएका छन्।
देउवा पक्षले आइतबारसम्म लगातार छलफल गर्दै तत्काल कुनै कठोर निर्णय नगर्ने तर नेतृत्वको व्यवहार हेरेर आगामी रणनीति तय गर्ने निष्कर्ष निकालेको छ। उक्त समूहले अदालतको निर्णय स्वीकारे पनि त्यसको व्याख्याप्रति असन्तुष्टि जनाउँदै राजनीतिक संघर्ष जारी राख्ने संकेत दिएको छ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भइरहेको छलफलमा ‘सम्मानजनक व्यवहार नभए विकल्प खोज्नुपर्ने’ धारणा बलियो रूपमा उठेको छ। केही नेताहरूले आवश्यक परे नयाँ राजनीतिक विकल्पका लागि पनि तयारी गर्नुपर्ने सुझाव दिएका छन्, यद्यपि तत्काल नयाँ दल गठन गर्ने पक्षमा भने निष्कर्ष ननिस्किएको बताइएको छ।
देउवा पक्षले आगामी ७ देखि १० दिनसम्म संस्थापन पक्षको भूमिका हेरेर थप निर्णय लिने जनाएको छ। यसबीच जिल्ला, प्रदेश वा राष्ट्रिय भेला बोलाउने सम्भावनासमेत खुला राखिएको छ।
यता, सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद समाधान र एकता सुदृढ गर्न सक्रिय पहल सुरु गरेका छन्। आइतबार साँझ उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उनकै निवासमा भेटेर संवाद गरेका हुन्।
भेटपछि थापाले पार्टीको बृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद सुरु गरेको जानकारी दिए। उनले अदालतको निर्णयले सबैलाई एकताबद्ध भएर पार्टीलाई बलियो बनाउने अवसर दिएको उल्लेख गर्दै आगामी १५औँ महाधिवेशनलाई सफल बनाउनेतर्फ लाग्न आह्वान गरे।
कांग्रेसभित्र अहिले दुई धारबीच शक्ति सन्तुलन, सम्मानजनक सहभागिता र संगठनात्मक पुनर्संरचनालाई केन्द्रमा राखेर बहस चलिरहेको छ। एक पक्षले समावेशी व्यवहारको माग गरिरहेको छ भने अर्को पक्ष ‘भागबण्डा अन्त्य’ गर्दै नयाँ ढंगले पार्टी अघि बढाउने रणनीतिमा देखिएको छ।
यस्तो अवस्थामा आगामी केही दिन कांग्रेसको आन्तरिक दिशा तय गर्ने निर्णायक समय बन्ने विश्लेषण गरिएको छ।
कांग्रेसमा ‘पर्ख र हेर’ बनाम एकताको पहल, देउवा–थापा संवादसँगै नयाँ समीकरणको संकेत
Leave a Comment
Leave a Comment

