काठमाडौं, कात्तिक १२। इजरायलको संसदीय निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्न नसकेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।
पार्टीले अरब नेतृत्वका राजनीतिक दलहरूले मत चोरी, धम्की, हिंसा र जालसाजी गरेको आरोप लगाउँदै प्रहरी, आन्तरिक सुरक्षा निकाय सिन बेट र केन्द्रीय निर्वाचन समितिसमक्ष प्रमाण पेस गरेको जनाएको छ।
लिकुड पार्टीले जारी गरेको विज्ञप्तिमा अरब दलहरूले यहुदी राज्यको अस्तित्व समाप्त पार्ने उद्देश्यसहित निर्वाचनमा अनियमितता गरेको आरोप लगाइएको छ। पार्टीका अनुसार घुसखोरी, मतदातालाई धम्की दिने, हिंसा गर्ने, जालसाजी गर्ने र मतदाता आकर्षित गर्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गर्नेजस्ता गतिविधि भएका छन्।
अरब नेतृत्वका राअम र जोइन्ट लिस्ट दलहरूले ऐतिहासिक रूपमा १९ सिट जित्ने अनुमान गरिएको छ। यसले नेतान्याहू नेतृत्वको गठबन्धन र विपक्षी पक्ष दुवैलाई संसदमा स्पष्ट बहुमत प्राप्त गर्न कठिन बनाएको छ। चुनावी प्रचारका क्रममा नेतान्याहूको पार्टीले अरब दलहरूसँगको सहकार्यलाई अवैध भन्दै विरोध गर्दै आएको थियो।
लिकुड पार्टीले प्रहरी, सिन बेट र केन्द्रीय निर्वाचन समितिलाई सयौँ प्रमाण बुझाएको दाबी गरेको छ। ती प्रमाणमा नगद राखिएका खाम, राअम पार्टीका प्रचार सामग्री, मतदातालाई धम्की दिइएको तथा हिंसा र दोहोरो मतदान भएका घटनासम्बन्धी विवरण समावेश रहेको पार्टीको भनाइ छ। मतदाता ओसार्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको आरोपसमेत लगाइएको छ।
पार्टीले निर्वाचनसम्बन्धी उजुरीमाथि तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। तर, केन्द्रीय निर्वाचन समितिका एक अधिकारीले भने निर्वाचनमा धाँधली भएको दाबी अस्वीकार गरेका छन्।
विभिन्न रिपोर्टका अनुसार निर्वाचनअघि नै लिकुड पार्टीले अरब बहुल क्षेत्रका मतदान केन्द्रको नतिजालाई चुनौती दिने तयारी गरेको थियो। निर्वाचनमा बहुमतको अवस्था अनिश्चित बनेपछि धाँधलीसम्बन्धी आरोपले इजरायलको राजनीतिक तनाव थप बढाउने देखिएको छ।

