काठमाडौं, कात्तिक १२। बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा बढ्न थालेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।
आजदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले कृषि कार्यदेखि हवाई तथा सडक यातायातसम्म प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।
मौसम पूर्वानुमानअनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। मधेससहित देशका विभिन्न प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
चक्रवातको प्रभावका कारण आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्ने तथा वर्षा र हिमपातको सम्भावना छ।
पश्चिम मध्य बंगालको खाडीमा विकसित अति शक्तिशाली ‘अर्नब’ चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर हुने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चक्रवातको प्रभावका कारण बुधबारदेखि नै नेपालको आकाशमा बादल देखिन थालेको छ। बिहीबारदेखि यसको प्रभाव थप बढ्न सक्ने र शनिबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्य शनिबारसम्म नगर्न महाशाखाले आग्रह गरेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।
यस अवधिमा उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा भ्रमण नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन पनि आग्रह गरिएको छ।
वर्षाका कारण पहिरोको जोखिम बढ्नुका साथै सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन, मौसमसम्बन्धी सूचनामा ध्यान दिन र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

