सिरहा, १२ कात्तिक। सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका छन्।
सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत सीमा सुरक्षा बलको नवराजपुरस्थित बीओपीबाट खटिएको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो।
गस्तीका क्रममा झाझपट्टीस्थित सीमा क्षेत्रमा केही व्यक्तिले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले देखेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले गाँजा बोकेका नौवटा बोरा छाडेर फरार भएका थिए।
बरामद गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। प्लास्टिकसहित गाँजाको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुमन जंग थापाका अनुसार बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

