बारा, नेपाल ब्राह्मण समाज बाराको बैठकले केन्द्रीय सचिव प्रेमलाल पाण्डेमाथि कारबाहीको माग गरेको छ। अध्यक्ष अनिल कुमार पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष पाण्डेले जानकारी दिँदै पूर्व कोषाध्यक्षसमेत रहेका सचिव पाण्डेसँग १८ वर्ष अवधिको जिम्मेवारीमा रहेको नगद तथा जिन्सी सामग्री, फर्निचरलगायत हालसम्म हस्तान्तरण नगरेको आरोप लगाएका छन्। उनले वर्तमान कार्यसमितिले करिब ४० दिन देखि लिखित तथा मौखिक रूपमा माग गर्दा पनि सम्बन्धित सामग्री नबुझाएको बताए।
उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै कार्यसमितिले केन्द्रीय समितिसमक्ष सचिव पाण्डेलाई निलम्बन गर्न माग गरेको अध्यक्ष पाण्डेको भनाइ छ।
यस्तै, सचिव पाण्डेले आफ्नो व्यवहार नसच्याएमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा समेत उजुरी दिने चेतावनी कार्यसमितिले दिएको छ।


