काठमाडौं, १४ चैत २०८२ – प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भएको मन्त्रिपरिषद्को बैठकले सहकारी बचत फिर्ता र महिला यातायात सुरक्षा सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारले सहकारीपीडित साना बचतकर्ताका रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार, साना बचतकर्ताको रकम फिर्ता हुने प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढाइनेछ। राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)ले पनि चुनावी घोषणापत्रमा यही प्रक्रिया १०० दिनभित्र पूरा गर्ने लक्ष्य राखेको थियो, जुन मन्त्रिपरिषद्ले कार्यसूचीमा आधिकारिक रूपमा समेटेको छ।
त्यसैगरी, सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ। ‘ब्लु बस’ सेवाले महिलालाई सुरक्षित, सुविधा सम्पन्न र सहज यातायात प्रदान गर्ने उद्देश्य राखेको छ।
सरकारका यी कदमहरूले सार्वजनिक हित, सामाजिक न्याय र महिला सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

