जङ्गलमा बेवारिसे अवस्थामा दुई भरुवा बन्दुक बरामद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

म्याग्दी, माघ २० — म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ स्थित झीँ गाउँ नजिकको जङ्गलबाट बेवारिसे अवस्थामा लुकाइराखिएका दुई थान भरुवा बन्दुक फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार प्राप्त सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानी क्षेत्रको जङ्गलमा खोजी गर्ने क्रममा उक्त बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार ती बन्दुक रातिको समयमा चोरीसिकारीका लागि प्रयोग हुने गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

बरामद गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले अवैध भरुवा बन्दुक नियन्त्रणका लागि सञ्चालन गरिरहेको विशेष अभियान अन्तर्गत पछिल्लो समय ग्रामीण क्षेत्रमा खोजी कार्य तीव्र बनाएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अवैध रूपमा लुकाइराखिएका हतियार दुरुपयोग हुनसक्ने जोखिमलाई ध्यानमा राखी अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार मङ्सिर १५ गतेदेखि जिल्लाभर ‘ब्राभो शेरा’ नाम दिइएको अपरेशन सञ्चालन गरी इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन कार्य भइरहेको छ। यही अभियान अन्तर्गत हालसम्म ११५ थान भरुवा बन्दुक फेला पारिएको छ।

एक महिनाको अवधिमा

बेनी नगरपालिका – ११ थान

अन्नपूर्ण गाउँपालिका – १६ थान

रघुगङ्गा गाउँपालिका – ४८ थान

मङ्गला गाउँपालिका – १४ थान

मालिका गाउँपालिका – २० थान

धवलागिरि गाउँपालिका – ६ थान

भरुवा बन्दुक बरामद गरिएको प्रहरीको तथ्यांक छ।

प्रहरीका अनुसार अवैध रूपमा बन्दुक राख्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

Leave a Comment