शैक्षिक सत्र २०८३ सुरु, भर्ना अभियान देशभर, २१ गतेदेखि पठनपाठन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १५ वैशाख । नयाँ शैक्षिक सत्र २०८३ आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ । सरकारले तय गरेको कार्यतालिका अनुसार आजदेखि विद्यालय भर्ना अभियान पनि सुरु गरिएको छ भने नियमित पठनपाठन वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ ।
यस पटक बराको कलैया उपमहानगरपालिका लगायत १६ स्थानीय तहमा समेत भर्ना अभियानसँगै शैक्षिक गतिविधि सुरु भएका छन् । देशभरका अन्य स्थानीय तहहरूमा पनि विद्यालयहरूले भर्ना प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार शैक्षिक सत्र सुरु भएसँगै सबै विद्यालयलाई विद्यार्थी भर्ना प्रभावकारी बनाउन निर्देशन दिइएको छ । उनले भने, “आजदेखि शैक्षिक सत्र सुरु भएको छ, सबै विद्यालयमा भर्ना अभियान चलिरहेको छ र २१ गतेबाट नियमित कक्षा सञ्चालन हुन्छ ।”
सरकारले समयमै पाठ्यपुस्तक वितरण सुनिश्चित गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । देशभर करिब ७० लाख विद्यार्थी विद्यालय तहमा अध्ययनरत रहेको अनुमान गरिएको छ ।

 

Leave a Comment